Monday, May 23, 2022

जीवन र समय एउटै रथका दुई पांग्रा

हामी सबैको लागि समय अमुल्य छ । समय कसैलाई पर्खदैन । समय सबैको लागि बराबर हुन्छ । समय बितेको पत्तै हुँदैन । समयको सदुपयोग गरे धेरै कुरा गर्न सकिन्छ ।  

समय सत्य हो, भ्रम हैन । समय हामीले भोगेको, भोगिरहेको र भोग्ने कालखण्ड हो । समय विगत, वर्तमान र भविष्य पनि हो । समय अदृश्य छ, तर शक्तिशाली छ । अहिले भर्खर यो हरफ लेख्दालेख्दै मेरो वर्तमान विगतमा परिवर्तन भयो । हो, हाम्रो वर्तमान छिनभरमा विगत हुन्छ र इतिहासमा परिवर्तन हुन्छ । मैले यो लेखको पहिलो अनुच्छेद लेखेको त्यो क्षण अहिले नै विगत गयो, त्यो समय फेरि फर्केर आउँदैन ।

जीवन बाँच्ने वर्तमानमा हो । जीवनमा हाँस्ने वर्तमानमा हो । जीवनमा केही गर्ने वर्तमानमा हो । यो अर्थमा भन्ने हो भने हामी सधै वर्तमानमा बाँचेका हुन्छौं । त्यसैले त हामीले आफ्नो लागि केही सोच्ने यही वर्तमानमा हो । आफ्नो समयको भरपूर सदुपयोग गर्ने पनि यही वर्तमानमा हो ।  

स्मृतिमा मात्र रहने विगत सबैको लागि पाठ हो । समयले सिकाएको पाठ । विगत कहिले सफलताको सिंढी चढेर सिक्ने पाठ हो भने कहिले भर्याङ्गबाट भुइँमा खसेर सिक्ने पाठ हो ।  

आफ्नो लागि समय दिने भनेको वा आफ्नो बारेमा सोच्ने भनेको आफ्नो व्यक्तिगत सबै कुराहरु जस्तै काम, जिन्दगी, विगत, वर्तमान आदिको बारेमा एकान्तमा बसेर आफैले मुल्यांकन गर्ने हो । म स्वयंले आफ्नो र अरुको लागि के गरे ? के गर्न गर्न सकिन ? के कुरा कसरी गर्न सकिन्छ ? आदि बारेमा चिन्तन र मनन गर्नु हो । सफलताको महत्वपूर्ण धेरै सुत्रहरु मध्ये यो पनि एक सुत्र हो ।

साथमा हाम्रो जीवन र समय बारे भन्नु पर्दा जीवन र समय भनेको एउटै रथका दुई पांग्रा हुन् । समयको साथसाथै जीवन पनि बितिरहेको हुन्छ । समयको आफ्नै सिमा, आफ्नै गति हुन्छ, साथमा निश्चल र निष्पक्ष पनि । उसलाई धनी–गरीब, शक्तिवान, रुपवान, रोगी–निरोगी, कसैको केही परवाह हुँदैन । 

दिनरात हुँदै समयले कसैलाई पर्खेर बसेको हुँदैन । समय नै फूल, समय नै काँडा भनिन्छ । “पुरुषको भाग्य र स्त्रीको चरित्र कुन बेला कुन रुप लिने हो ? देवताले पनि केही भन्न सक्दैन रे ।” समय किन्न सकिन्न, तर गुमाउन सकिन्छ । समय रोक्न सकिन्न, तर उचित प्रयोग गर्न सकिन्छ । समय कहिले स्थिर रहँदैन, पृथ्वी मात्र घुमेको हुन्छ । सूर्य कहिले न अस्त हुन्छ, न उदय बरु पृथ्वीमात्र घुमेकोले सूर्यको तेजशक्ति जहाँ पर्छ, त्यहाँ दिन, जहाँ पर्दैन त्यहा रात हुँदै अन्धकार हुन्छ । 

त्यस्तै यसरी नै समयको गतिसंगै सूर्यपनि तलमाथि, तलमाथि भएको हुन्छ । जब समयनुसार सूर्य माथि गएको बेला पृथ्वीमा सूर्यको तेजशक्ति टाढिन गई जाडो मौसम सुरु हुन्छ र नजिक भई गर्मी मौसम शुरु हुन्छ । यस्तै समय कै अस्थिरताले नै ग्रह राशी पनि घुमिरहेको हुन्छ । त्यसै अन्तर्गत हामी प्राणी जातिको दिन दशा ग्रह पनि घुमिरहन्छ । कहिले सुख त कहिले दुःख । समयकै खेलले हाम्रो सोचाइ–विचार पनि परिवर्तन हुन्छ  ।   

मानिसको हरेक यात्रा आजबाट नै  शुरु हुन्छ । भोली भनेर कुर्ने हो भने कुनै काम नै शुरु हुँदैन । सफल जिन्दगीको लागि आवश्यक कदम अहिले नै आफैले चाल्ने हो । त्यसैले आफ्नो जिन्दगीको हरेक पल आफ्नै लागि हो ।  


No comments:

Post a Comment